Latest News

Saturday, October 03, 2015

तीन दलीय एकता फुटाउने षड्यन्त्र : मन्त्री बस्नेत

भक्तपुर, १६ असोज । उद्योग मन्त्री महेश बस्नेतले सत्ता समीकरणको नाममा ठूला तीन दलबीचको एकता फुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

आज भक्तपुरमा शुभकामना बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले तीन दलको एकता लामो समयसम्म जानुपर्ने बताउनुभएको हो ।

तीन दलका शीर्ष नेताहरुको एकताले नै संविधान जारी भएको चर्चा गर्दै उहाँले संविधानलाई कार्यान्वयनमा ल्याउनसमेत तीन दलीय एकता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

नयाँ सरकारको ढोका खोल्दा तीन दलीय एकतामा टुट्ने हो कि भन्ने आशङ्का पैदा भइसकेको बताउँदै उहाँले अहिलेसम्मको सहकार्य पनि यतिखेर कठिन मोडमा पुगेको बताउनुभयो ।

“एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन कोही विचलित हुनुहुँदैन, ओलीलाई सहमति सरकारको प्रधानमन्त्रीको प्रस्ताव प्रधानमन्त्री सुशील कोइरालाले नै गर्दा उहाँको उच्च मूल्याङ्कन हुन्छ”–मन्त्री बस्नेतले भन्नुभयो–“प्रधानमन्त्रीले हिजो राजीनामा नदिँदा पनि धेरै आशङ्काहरु पैदा भएको छ, तर पनि नयाँ सरकारको ढोका खुलिसकेको छ ।”

देशमा संविधान जारी हुन नसकेको भए अहिलेको भन्दा पनि ठूलो सङ्कट आउन सक्ने बताउँदै देशलाई एक ढिक्का बनाएर लैजान तीन दलीय एकता र सहमतिलाई अझ मजबुद बनाएर लैजानुपर्ने उहाँले धारणा राख्नुभयो ।

भारतले विस्तारवादको घोषणा गर्दै नाकाबन्दी गर्नु दुःखद् विडम्बना भएको बताउँदै उहाँले भारतले दुईचार हजारको कुरा सुनेर नाकाबन्दी गर्दा भारतलाई समेत निकै असर पर्ने बताउनुभयो ।

आजबाट चीनको खासा नाका खुलेको र केही दिनमै रसुवागढी नाका खुल्ने दाबी गर्दै उहाँले उत्तरतर्फको नाका खुलेपछि सामान ल्याउन निकै सजिलो हुने बताउनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो–“उत्तरको नाकाबाट दैनिक उपभोग्य सामान ल्याउन सकिन्छ, अब सरकारले बङ्गलादेश, दुबई र सिङ्गापुरबाट पेट्रोलियम पदार्थ ल्याउन पहल गरेको छ, त्यहाँबाट तेल आएपछि जनताको दैनिक जीवनमा देखिएको कठिनाइ सहज हुन्छ ।”

अहिलेको संविधानले दलित, जनजाति, महिला, आदिवासी, मधेसीलगायत सबैको हक, अधिकार सुनिश्चित भए पनि संविधानको गलत व्याख्या गर्दै आन्दोलन गर्ने नाममा नाकाबन्दी गर्ने धृष्टता गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष धर्मरत्न खाइतुले पाँच हजार २११ जना सदस्य रहेको संस्थाले यस वर्ष रु पाँच करोड सेयर पुँजी रहेको, रु ३७ करोड २५ लाख निक्षेप सङ्कलन गरेको, यसवर्ष कुल रु ५४ करोड ५७ लाख ५० हजार रहेको र नाफा रु ५० लाख रहेको जानकारी दिनुभयो । रासस

no image
  • Title : तीन दलीय एकता फुटाउने षड्यन्त्र : मन्त्री बस्नेत
  • Posted by :
  • Date : 8:21:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top