Latest News

Saturday, October 03, 2015

माग सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यकः नेताहरु

काठमाडौँ, १६ असोज । संविधान संशोधन गरी असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्न र सबै दलको सहकार्य र सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरुलाई आग्रह गरिएको छ ।

संविधान कार्यान्वयनका लागि बहुमतीयभन्दा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै तीनदलको अहिलेको कार्यगत एकतालाई अझ दरिलो बनाउन र यसमा तराई मधेस केन्द्रित दललाई समेट्न सुझावसमेत दिइएको छ ।

त्रिभूवन विश्व विद्यालयअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागद्वारा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले दलहरुलाई सो सुझाव दिँदै दलहरुको एकता र सहकार्यले मात्र राष्ट्रिय एकता कायम हुन सक्ने विचार सार्वजनिक गरे ।

जनताले आफ्नो हातबाट सार्वभौमसत्ता गुमाउन नपर्ने गरी संविधानमा अधिकार सुरक्षित भएको हुँदा जनतालाई संविधानले गरेको अपनत्वलाई बुझाउन आवश्यक भएको सहभागीले जोड दिए ।

कार्यक्रममा नेकपा–एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता र दलहरु बीचको सहकार्य आवश्यक भएकामा जोड दिँदै संविधान सबै पक्षका सम्झौताको दस्तावेजका रुपमा आएको विचार व्यक्त गर्नुभयो ।

उहाँले संविधान कार्यान्वयन हुन नपाउँदै संशोधन गर्नुपर्ने अवस्था आएको चर्चा गर्दै संविधानका विशेषताका बारेमा आमजनतालाई जानकारी आवश्यक भएको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि बहुमतीयभन्दा सहमतीय सरकार आवश्यक रहेको भन्दै यसको गठनका लागि दलहरुले गृहकार्य गर्नुपर्छ भन्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का नेता जनार्दन शर्माले संविधानले आर्थिक, सामाजिक, राजनीतिक विकासको मार्गप्रशस्त गरेको धारणा राख्दै दलगत स्वार्थले भन्दा राष्ट्रिय एकताले देश विकास गर्ने समय आएको छ भन्नुभयो ।

पूर्व परराष्ट्र मन्त्री डा प्रकाशचन्द्र लोहनीले संविधानले देशलाई नयाँ मार्गदर्शन दिएको भन्दै यसको कार्यान्वयनका लागि इमान्दारिताको खाँचो औँल्याउनुभयो ।

अर्का पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले संविधानले युगान्तकारी परिवर्तन गरेको तर कार्यान्वयनका लागि धेरै चुनौती रहेको बताउनुभयो ।

पत्रकार कनकमणि दीक्षितले पछिल्लो समय भारतले नेपाललाई पञ्चशीलको सिद्धान्तविपरीत व्यवहार गरिराखेको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका कारण देशमा भाँडभैलो उत्पन्न भएको बताउनुभयो । रासस

no image
  • Title : माग सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यकः नेताहरु
  • Posted by :
  • Date : 8:04:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top