Latest News

Friday, October 02, 2015

नेपाल र जमैकाबीच कूटनीतिक सम्बन्ध कायम

न्युयोर्क (अमेरिका), १५ असोज । नेपाल र क्यारेबियन मुलुक जमैकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा भाग लिने क्रममा न्युयोर्कमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र जमैकाका विदेशमन्त्री आर्नोल्ड जे निकोल्सनले सोसम्बन्धी कागजातमा हस्ताक्षर गर्नुभयो ।

जमैकासँगको कूटनीतिक सम्बन्धसँगै नेपालको कूटनीतिक सम्बन्ध कायम भएको देशको सङ्ख्या १४१ पुगेको छ । यसअघि नेपाल र काजकस्तानसँग त्यस्तो सम्बन्ध कायम भएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री पाण्डेले दुई देशबीच आगामी दिनमा सम्बन्ध विस्तार गर्दै लैजाने र आपसी सहयोगका क्षेत्र पहिचान गरिने बताउनुभयो ।

इटालीबाट पुनःनिर्माणमा सहयोग चासो
परराष्ट्रमन्त्री पाण्डे र इटालीका विदेशमन्त्री पाउलो जेन्पिलोनीबीच भेटवार्ता भएको छ । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा इटलीका विदेशमन्त्री पाउलोले नेपालको पुनःनिर्माणका क्षेत्रमा सहयोग गर्ने चासो व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले इटालीले नेपालको सहयोगमा चासो राखेकामा धन्यवाद व्यक्त गर्दै संविधान निर्माणपछि नेपाल राजनीतिक स्थायित्व र शान्ति र विकासको बाटामा अग्रसर हुने विश्वास दिलाउनुभयो ।

मन्त्री पाण्डे र युएनडिपीका प्रशासकबीच भेटवार्ता

परराष्ट्रमन्त्री पाण्डे र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी)का प्रशासक हेलेन क्लार्कबीच युएनडिपीको मुख्यालयमा आज भेटवार्ता भयो ।

सो अवसरमा युएडिपीद्वारा सञ्चालित विकास कार्यक्रम र राष्ट्र सङ्घको ७०औँ महासभाले पारित गरेको सन् २०१५ पछिको दिगो विकास कार्यक्रमका विषयमा उहाँहरुबीच छलफल भएको थियो ।

मन्त्री पाण्डेले गत वैशाखमा गएको भूकम्पका बेला युएनडिपीले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दुर्गा भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायतको सहभागिता थियो । रासस

no image
  • Title : नेपाल र जमैकाबीच कूटनीतिक सम्बन्ध कायम
  • Posted by :
  • Date : 7:55:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top