काठमाडौँ, १६ असोज । विश्वदर्शन अभियान नेपालले आज यहाँ शनिबासरीय सत्संगको आयोजना ग¥यो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा डा देवमणि भट्टराईले पूर्वीय दर्शन र संस्कृत भाषाको ठूलो महत्व रहेको र यी कुराको विश्वमा प्रचारप्रसार गर्न सके विश्वमै नेपालको सम्मान बढ्ने बताउनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि क्याम्पसको धर्मशास्त्र विभागका प्रमुख पनि रहनुभएका डा भट्टराईले हाम्रा हरेक चाडपर्व र संस्कृतिका पक्षहरुको व्यावहारिक महत्व भएको तर पश्चिमी सभ्यताको प्रभावले ती कुरा ओझेलमा परेको बताउनुभयो ।
अर्का अतिथि राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराईले पूर्वीय सभ्यताका राम्रा पक्षलाई पश्चिममा प्रचारप्रसार गर्नुपर्ने र नेपाललाई विश्वमा चिनाउनुपर्ने बताउँदै अभियानका विश्वयात्रीद्वय नवराज र नारायणप्रसाद भट्टराईले सम्पूर्ण नेपाल र भारतको भ्रमण गरी नेपाललाई विश्वमा चिनाउने अभियानमा लागेकोमा सराहना गर्नुभयो ।
अभियानका अध्यक्ष नवराज भट्टराईले नेपाल बाहिर पनि नेपालीहरुले नेपाली संस्कृतिलाई बचाएका पाइएको बताउनुभयो भने महासचिव नारायण भट्टराईले संस्कृत भाषा ज्ञानको भण्डार भएकाले त्यो भाषा सिक्नुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रमार्फत पनि संस्कृत सिकाउने कक्षा सञ्चालन गर्ने योजना भएको बताउनुभयो ।
कार्यक्रममा योग शिक्षिका जमुना पौडेलले योगाभ्यास गराउनुभयो भने कविता ढुङ्गाना र गायत्री समूहका सन्तोष केसीले पनि योगको महत्वबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस
0 comments:
Post a Comment