काठमाडौं,असोज १५ । डेनमार्कले काठमाडौंस्थित आफ्नो आवासीय दूतावास हटाउने भएको छ । युरोपमा जारी आर्थिक मन्दीका कारण देखाउँदै डेनमार्कले नेपालको दूतावास दिल्ली सार्ने तयारी गरेको उच्च कुटनीतिक स्रोतले जनाएको छ । यससँगै डेनमार्कको भिसा प्रक्रियाको लागि नेपालीले भारतको दिल्लीस्थित डेनिस दूतावास पुग्नुपर्ने भएको नेपाल समाचारपत्रमा खबर छ ।
न्यूयोर्क भ्रमणमा रहेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई उपप्रधानमन्त्री एवम् विदेशमन्त्री क्रिष्टियन जेनसेनले काठमाडौ दूतावास हटाउने तयारी भएको हालै जानकारी दिइसकेका छन् ।
परराष्ट्रमन्त्रीलाई डेनिस विदेशमन्त्रीले मौखिक जानकारी गराएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । डेनमार्कले नेपालसहित पाकिस्तान, मोजाम्बिक र जिम्बाबेमा रहेका आवासीय दूतावाससमेत हटाउने तयारी गरेको ती अधिकारीले बताए । काठमाडौंको दूतावास दिल्ली गाभिएसँगै नेपालमा जारी डेनिस सहयोग नियोग (डेनिडा)को कार्यक्रमसमेत प्रभावित हुने बताइएको छ ।
0 comments:
Post a Comment