Latest News

Saturday, October 03, 2015

गलेश्वरधाममा आश्रय लिन आउने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्यो

म्याग्दी, १६ असोज । म्याग्दीको प्रसिद्ध गलेश्वरधामा रहेको ज्येष्ठ नागरिक आश्रममा आश्रय लिन आउनेको सङ्ख्या बढेको छ ।

घरपरिवार कोही पनि नभएका र आफन्तबाट अपहेलित बनेका आश्रममा आश्रयको लागि आउने क्रम बढेको गलेश्वर ज्येष्ठ नागरिक आश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

विसं २०६७ मा स्थापना भएको आश्रममा हाल ६० जना ज्येष्ठ नागरिक आश्रित रहेका छन् । ज्येष्ठ नागरिक आश्रम स्थापना अगाडिदेखि नै गलेश्वरमा अव्यवस्थित रुपमा साधु, सन्त बस्दै आएको भए पनि पछिल्लो समय आश्रममा आश्रय लिन आउनेको सङ्ख्या बढेको अध्यक्ष केसीले जानकारी दिनुभयो । यो वर्ष थप १५ जनाले आश्रममा बस्नका लागि निवेदन दिएका छन् ।

‘‘आश्रम सुरु गर्दा २५ जना वृद्धवृद्धा थिए, अहिले ६० जना पुगेका छन्, हरेक वर्ष १० जनाको हाराहारीमा आश्रय खोज्दै आउँछन्, उनीहरुलाई व्यवस्थापन गर्न नै कठिनाइ भइरहेको छ, अध्यक्ष केसीले भन्नुभयो ।’’ घरपरिवार भएकासमेत आश्रममा आश्रय लिन आउने गरेको पाइएकाले समितिले उनका आफन्तलाई जिम्मा लगाउने समेत गरेको छ ।

सो आश्रममा बस्ने घरवारविहीन, अपहेलित भएका र अशक्त ज्येष्ठ नागरिकलाई निःशुल्क खाना, बस्ने र औषधि उपचारको सुविधा आश्रमले दिँदै आएको छ ।

आश्रमका ज्येष्ठ नागरिकका लागि गलेश्वर पुलत्स्य पुलह अन्नदान क्षेत्र, शिवालय क्षेत्र विकास कोषको पहलमा निःशुल्क खानाको व्यवस्थापन गरिएको हो । पछिल्लो समय विभिन्न सङ्घ संस्था र व्यक्तिले समेत आश्रममा रहेका ज्येष्ठ नागरिकको खानाको लागि सहयोग गर्न थालेका छन् ।

एनआरएन बेलायतको लगानीमा गत वर्ष निर्मित सुविधा सम्पन्न वृद्धाश्रम भवनमा हाल २२ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् । त्यस्तै गलेश्वरधाम शिवालय क्षेत्र विकास कोष, जिविस, महिला तथा बालबालिका कार्यालय, समाज कल्याण मन्त्रालयलगायतको सहयोगमा निर्मित अन्य भवनमा बाँकी ज्येष्ठ नागरिकलाई राखिएको भए पनि आश्रममा बस्नका लागि निवेदन दिएका अन्य ज्येष्ठ नागरिकलाई राख्नका लागि पूर्वाधारको अभाव भएको समितिले जनाएको छ । रासस

no image
  • Title : गलेश्वरधाममा आश्रय लिन आउने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्यो
  • Posted by :
  • Date : 10:07:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top