Latest News

Saturday, October 03, 2015

सामुदायिक प्रहरीको जनचेतनामूलक कार्यक्रम सुरु

तुलसीपुर (दाङ), १६ असोज । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले दसैँ तिहार तथा छड पर्व नजिँकै गर्दा जुवा तास तथा अवैध मदिरा नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

सोही क्रममा केन्द्रले शुक्रबार तुलसीपुरको नयाँ बसपार्कस्थित प्रगति टोल विकास संस्थामा गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने सर्वसाधारण नागरिकले चाडपर्वको समयमा हुने विकृतिलाई निरुत्साहित गर्न आफूहरुले सक्दो सहयोग गर्ने बताएका थिए ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत वासुदेव नेपालले अवैध मदिरा उत्पादन तथा बेचबिखन कार्य गैरकानुनी भएको र यदी कोही कसैले सो गरेको पाएमा अन्तःशुल्क ऐनअनुसार कारबाही गरिने बताउनुभयो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईंले जुवातास र अवैध घरेलु मदिरा नियन्त्रणका लागि प्रहरी कडारुपमा परिचालन गरिएको र सूचना दिन आम नागरिकलाई अनुरोध गर्नुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नारायणी रजौरेले नागरिकको सहयोगबिना प्रहरी एक्लैले समुन्नत समाज निर्माण गर्न नसक्ने भन्दै समाजमा हुनेगरेका विकृतिका विरुद्ध एकजुट भएर खबरदारी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रगति टोल विकास संस्थाका अध्यक्ष प्रेमराज वली, होटल व्यवसायी समिति तुलसीपुरका सचिव इन्द्रबहादुर बस्नेत, तुलसीपुर उद्योग वाणिज्य सङ्घका सदस्य वेदप्रसाद वली, तुलसीपुर नगरपालिकाका खेमकान्त पाण्डेय, पत्रकार भरतराज शर्मालगायतकाले केन्द्रले सञ्चालन गरेको अभियानलाई आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

केन्द्रका अध्यक्ष रजौरेको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका उपाध्यक्ष वसन्त खड्कीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
सोही कार्यक्रममा वेदप्रसाद वलीको संयोजकत्वमा १७ सदस्यीय अवैध मदिरा नियन्त्रण समिति पनि गठन गरिएको छ । त्यसैगरी सामुदायिक प्रहरी सेवा केन्द्रले त्यस्तै कार्यक्रम शुक्रबारनै तुलसीपुरको गुम्राहा चोकमा पनि गरेको थियो ।

no image
  • Title : सामुदायिक प्रहरीको जनचेतनामूलक कार्यक्रम सुरु
  • Posted by :
  • Date : 8:39:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top