Latest News

Sunday, October 04, 2015

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

गौशाला, १७ असोज । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा ‘नहा, खा’ (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।

व्रत बस्नुअघि आजको दिन महिलाहरुले घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद चढाइ चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । भोलि बिहान ४ बजेदेखि उपवास बसी पर्सी बिहान १० बजे सम्पन्न हुनेछ ।

सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुने गरिन्छ । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन रहेको छ ।

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाख सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा(कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठ गन सम्पन्न गर्नु पर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ ।

प्रायःजसो महिलाले आठ गन मा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रतविशेष विकट रहेको पण्डित कैलाश मिश्र बताउनुहुन्छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विधापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ भन्नुहुन्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिंवगत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिव्रो टोके भने व्रत असल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खद जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ । रासस

no image
  • Title : आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु
  • Posted by :
  • Date : 12:03:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top