Latest News

Saturday, October 03, 2015

ज्येष्ठ नागरिक दिवसमा खेलकुद मेला सम्पन्न

काठमाडौँ, १६ असोज । ‘राष्ट्रिय परिवेशमा ज्येष्ठ नागरिकको समावेशीता र दिगोपन’ भन्ने मूलनाराका साथ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

वृद्ध नागरिक सेवा समाज, चाबहिल आयोजक र सहआयोजक स्पोर्ट्स् फर अल कमिसनले आज आयोजना गरेको खेलकुद कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका गरी करिब ७०० जनाको सहभागिता रहेको थियो । ललितपुरस्थित लिटिल एन्जेल्स विद्यालयको मैदानमा सञ्चालन भएको उक्त कार्यक्रममा चम्चा दौड, घैँटो फुटाई, हाजिरीजवाफ र म्यूजिकल चेयर खेल समावेश गरिएको थियो ।

कार्यक्रमको संयोजन तथा अध्यक्षता विष्णुगोपाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमका बारेमा विस्तृत जानकारी पनि दिनुभएको थियो ।

नेपालमा यस्तो कार्यक्रम विसं २०६८ सालमा गरिएको थियो भने यो तेस्रो पटकको कार्यक्रम हो । यसरी उल्लेख्य वृद्धवृद्धाले सहभागिता जनाएको कार्यक्रम राष्ट्रियस्तरमा पनि हुनुपर्ने आयोजकहरुले बताएका थिए । कार्यक्रममा सहभागी हुन पाएकामा सबै वृद्धवृद्धाले खुसी व्यक्त गरेका थिए ।

खेलकुद क्षेत्रबाट पनि वृद्धवृद्धालाई मनोरञ्जन दिई खुसी बनाउन सकिन्छ भन्ने अभिप्रायले उक्त कार्यक्रम सञ्चालन भएको थियो । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष श्री गौरीशङ्कर लालदासको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महासङ्घका महासचिव छत्र प्रधानले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई आकर्षक बनाउनका निम्ति नलिना चित्रकार र कुन्ती मोक्तानले गीत गाएर मनोरञ्जन दिनुभएको थियो । कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पदकद्वारा सम्मान गरिएको थियो । रासस

no image
  • Title : ज्येष्ठ नागरिक दिवसमा खेलकुद मेला सम्पन्न
  • Posted by :
  • Date : 8:21:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top