Latest News

Friday, October 02, 2015

बाबुरामबिनाको माओवादी

मुमाराम खनाल

औपचारिक चिनजानको हिसाबले अझै धेरै वर्ष भए पनि पार्टीको शीर्षस्थ नेतृत्वमा रहेर एमाओवादीका नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराईले राजनीतिक जीवनका २४ वर्ष सँगसँगै बिताए । राजनीतिक उथलपुथलका दृष्टिले बितेका २४ वर्षपछि नेपाल कहाँ आयो र त्यसका प्रभावहरूले कहाँ पुग्नेछ भन्ने बहस हुँदै जाला। र, स्वतन्त्र रूपमा दाहाल र भट्टराईको राजनीतिक स्थान, प्रभाव र भविष्यको लेखाजोखा पनि भइरहला।

 

आजको दिनसम्म आउँदा राजनीतिका यी दुई पात्रले नेपालमा सशस्त्र हिंसाको माध्यमबाट आफूलाई चर्चित मात्र बनाएनन्, नेपाली राज्यसत्ताको चरित्रलाई आफू पनि समायोजन हुन सक्ने सीमासम्म खल्बल्याइदिए। राज्यसत्ताको सम्पूर्ण चरित्रलाई आधारभूत रूपमा परिवर्तन गर्ने दाबीसहित उनीहरूले नेपालमा ‘जनयुद्ध’ को सुरुआत गरे।
‘जनयुद्ध’ को हिंसात्मक राजनीतिक परिवेश र अतिकेन्द्रीकृत सांगठनिक ढाँचाभित्र राजनीतिका यी चतुर खेलाडीहरूले पहिले आफ्नो दलको सम्पूर्ण शक्तिलाई आफैँमा केन्द्रित गरे। र, त्यसपछि राज्यसत्ताभित्र दुईजना छिर्न मिल्ने प्वाल बनाएर दुवैजना प्रधानमन्त्री पनि बने।
बितेका २४ वर्षपछि एमाओवादीको पूर्वनिर्धारित असोज १० गते बसेको केन्द्रीय समिति बैठकको माथिल्लो आसनमा पहिलोपटक बाबुराम थिएनन्। किनभने उक्त बैठकको दुई दिनअगाडि एउटा पत्रकार सम्मेलनमार्फत बाबुरामले पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्र नागरिक भएको जानकारी दिएका थिए।
एमाओवादी बैठकको विशेष ‘वास्तुकला’ त्यसरी नै निर्माण गरिएको छ जसरी पार्टीको ढाँचालाई केन्द्रीकरण गरिएको छ। त्यसरी निर्मित विशेष वास्तुकलामा बस्नेहरूले मात्र होइन, हेर्नेहरूले पनि आफ्नो बुझाइलाई एउटा लयमा आबद्ध गरिरहेका हुन्छन्। त्यसैले हरेक बैठकहरूमा दाहालको आडमै बसिरहने भट्टराईलाई नदेख्दा पक्कै पनि धेरैले खल्लो महसुस गरे होलान्।
आफ्नो छेउमा बसिरहने बाबुरामलाई नदेख्दा दाहालको मनोविज्ञानमा कस्तो प्रभाव पर्‍यो होला भन्ने कुरा पछि दाहाललाई सोध्दै गरौँला तर बाबुरामबिनाको एमाओवादी र एमाओवादीबिनाको बाबुरामले पार्ने प्रभावको आलोकमा स्वयं एमाओवादी के होला? भन्ने विषय नेपाली राजनीतिको रुचिकर विषय हुन सक्छ।
विचारले होइन र भावनाले त झन् हुँदै होइन, तैपनि बाबुराम र पुष्पकमलको राजनीतिक सम्बन्ध अपेक्षा गरेभन्दा निकै लामो समय टिकेको मान्नुपर्छ। कसैलाई पनि आश्चर्य लाग्न सक्छ, विचार र भावनाले निर्देशित नगरेको सम्बन्धले यति लामो यात्रा कसरी तय गर्न सक्छ?
इतिहास साक्षी छ-एउटै पार्टीको नेतृत्वदायी भूमिकामा रहेदेखि भट्टराई र दाहालको सम्बन्धमा प्रत्येक एकदुई वर्षपछि दरार आउने गरेको थियो। र, दरारको प्रमुख कारणमा राजनीतिक र भावनात्मक पक्षको भूमिका गौण देखिन्छ। बरु सम्बन्धको दरारमा व्यक्तिगत महत्वाकांक्षा र भूमिकाको पक्ष प्रधान देखिन्छ।
 किनकि माओवादी पाठशालाका यी दुवै मूर्धन्य व्यक्तित्वको व्यक्तिवाद र महत्वाकांक्षा समान प्रकृतिको थियो र छ। पार्टीको संस्थागत जीवन भन्नु नै दाहाल-भट्टराई एकतामा खुम्चिएपछि माओवादी आन्दोलनको समुल चरित्र नै दुईजनामा केन्द्रित बन्न पुग्यो।
त्यसैले माओवादी आन्दोलनको इतिहासलाई सर्सर्ति हेर्ने हो भने बाबुरामको पार्टी परित्यागले आजसम्मको समग्र माओवादी आन्दोलनको सकारात्मक÷नकारात्मक चरित्रको समापन मानिनेछ।राजनीतिक पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव भएपछि पार्टीभित्र केही सीमित ‘टावर पर्सनालिटी’ को जन्म हुन्छ र पार्टीको संस्थागत चरित्र समाप्त पारिदिन्छ।
आन्तरिक लोकतन्त्रको हिसाबले माओवादीको जन्म, विकास र प्रयोगको राजनीतिक धरातल नै अलोकतान्त्रिक थियो। अझ मार्क्‍‍सवादको ‘नयाँ र उन्नत चरण’ को नाममा विकसित गरिएको पछिल्लो माओवादी सैद्धान्तिक अवधारणाको नेपाली प्रतिनिधि पार्टीको हैसियतले माओवादीको वैचारिक पाठशाला ज्यादै व्यक्तिवादी बन्न गयो।
यस्तो व्यक्तिवादको सैद्धान्तिक जगमा जन्मेर सशस्त्र हिंसात्मक प्रयोगमा गएपछि माओवादीको संगठनात्मक चरित्र पूर्णतः ‘व्यक्तिप्रधान केन्द्रीयता’ बन्न पुग्यो । तर संसारका अन्य माओवादी पार्टीहरूको भन्दा भिन्नै नेपालको माओवादी आन्दोलनमा पार्टीको एउटै व्यक्तिको वर्चश्व स्थापित गर्न कयौँ वस्तुगत कठिनाइहरू उत्पन्न भए। यसै वस्तुगत कठिनाइका उपज थिए– डा. बाबुराम।
बाबुराम र दाहालको राजनीतिक यात्रा एकै प्रकारबाट आरम्भ भएन। दुवैको शैक्षिक पृष्ठभूमिमा पनि ठूलो भिन्नता रहन गयो। र, पार्टी स्थापनाकालको प्रारम्भमा राज्यको प्रजातान्त्रिक चरित्रभित्र बाबुरामको सामाजिक व्यक्तित्व बढी स्थापित हुन गयो। उल्लिखित कारणहरूले संसारका अन्य माओवादी आन्दोलनमा जस्तै एउटै व्यक्ति मात्र विशेष रूपमा स्थापित हुने राजनीतिक स्थिति नेपालको माओवादी आन्दोलनमा बनेन।
जसले गर्दा पार्टीभित्र दाहाल र पार्टीबाहिर बाबुराम समानान्तर ढंगले स्थापित नाम हुन पुगे। त्यसैले माओवादीको पूर्व रूप नेकपा (एकता केन्द्र) हुँदादेखि नै माओवादीको राजनीतिक चरित्र पनि दाहाल र बाबुरामको चरित्रअनुसार विकसित बन्न पुग्यो।
पार्टीभित्र रहेका अन्य दुईजना सापेक्षिक प्रभावशाली नामहरू मोहन वैद्य र रामबहादुर थापा पनि दाहाल वा बाबुरामको चरित्रले प्रभाव पार्ने पार्टी लाइनको अधीनस्थ भूमिकामा मात्र सीमित रहे। त्यसकारण दुई समानान्तर व्यक्तित्वको आपसी महत्वाकांक्षा र हितको सुरक्षार्थ उत्पन्न हुने अन्तरविरोध वा एकताबाट निश्रित माओवादीको चरित्रमा बाबुरामको अनुपस्थितिले निर्णायक प्रभाव पार्नेछ।
अर्थात्, आजसम्मका विभाजनहरूले माओवादीको मूल चरित्रलाई परिवर्तन गरेको थिएन। तर बाबुरामको पार्टी परित्यागले आगामी माओवादीको चरित्र माओवादीको निरन्तरताको चरित्र रहने छैन । बाबुरामको पार्टी परित्यागले माओवादीमा ल्याउने सबैभन्दा ठूलो बदलाब यही हो।
नेपाली राजनीतिमा बढ्दै गएको दिल्लीको भूमिका, जातीय-क्षेत्रीय राजनीतिलाई सीमाभन्दा बढी तन्काएको आरोप र आफ्नै नीतिमा आधारित भएर निर्माण भएको नयाँ संविधानको विरोधमा पार्टी परित्याग गरेका बाबुरामले नयाँ राजनीतिक यात्रापछि पनि पाइलैपिच्छे जबाफ दिँदै हिँड्नुपर्नेछ।
माओवादीको राजनीतिक चरित्र निर्माण जहिले पनि दाहाल र भट्टराईको हित साधनाबाट निर्मित सम्झौताले निर्धारण गर्‍यो। त्यसैले चाहे सशस्त्र विद्रोहको कालमा होस् वा शान्तिकालमा-माओवादी आन्दोलनमा दाहाल र भट्टराईको बीचमा अन्तरविरोध आउनासाथ पार्टी गतिविधि ठप्प हुन्थे।
नेता तथा कार्यकर्ताहरूका बीचमा गुटवादको विवाद बढेर जान्थ्यो र पार्टी बाहिरको आलोचनात्मक जमातको आक्रमण पनि तीव्र हुन्थ्यो। जसको चर्को दबाबले दाहाल र भट्टराईलाई पार्टी विभाजन गरेर अगाडि बढ्नुभन्दा आपसी हित साझेदारीमा सम्झौता गर्न वस्तुस्थितिको दबाबले बढी प्रेरित गर्थ्‍यो।
तर माओवादीबाट धेरै प्रभावशाली राजनीतिक व्यक्तित्वहरूको बहिर्गमनपछि पार्टीभित्रको राजनीतिक दबाब ज्यादै खुकुलो भएको थियो। अनेकौँ टुटफुट र विभाजनले पार्टीको शक्ति पनि निरन्तर क्षयीकरण हुन पुग्यो। जसले गर्दा पार्टी बाहिरको जनदबाबले पनि माओवादीको एकतालाई बाँधिराख्ने हैसियत राख्ने अवस्था रहेन।
परिणामस्वरूप दाहाल-भट्टराई सम्बन्ध टिकाइराख्ने पार्टीभित्र र बाहिरको दबाबयुक्त वातावरण अत्यन्तै खुकुलो बन्यो। अर्कोतिर निर्वाचनमा भएको पार्टी पराजयले उनीहरूको द्विपक्षीय स्वार्थ सम्बन्धको सीमा पनि खुम्चिएर गयो। मात्र संविधानसभा जस्तो बलियो संस्थामा पार्टीको उपस्थितिले मात्र दाहाल-भट्टराई सम्बन्धलाई घिसारिरहेको थियो।
नत्र हेटौँडा महाधिवेशनको वरिपरि नै मुख्य नेतृत्वमा बाहेक पार्टीमा बसिरहने चाहना बाबुरामको थिएन। त्यसैले संविधानसभाले संविधान जारी गर्नेबित्तिकै बाबुरामले पार्टी परित्याग गर्नु स्वाभाविकै थियो।
बाबुरामको अनुपस्थितिमा एमाओवादीको आगामी चरित्र व्यापक परिवर्तन भएर जानेछ। अर्थात् नयाँ राजनीतिक ध्रुवीकरणमार्फत यसले आफ्नो विगतको चरित्र गुमाएर नयाँ चरित्र अपनाउन बाध्य हुनेछ।
या त यसले आफैँबाट टुक्रिएर गएका विभिन्न समूहसँग एकता गर्दै विगतको उग्र वामपन्थी चरित्र अवलम्बन गर्नुपर्नेछ या त यसले आफूलाई अझ बढी दक्षिणावर्त ढल्काउनेछ। एमाओवादीको विगत, आगत र भविष्यलाई आकलन गर्ने हो भने यसको आगामी बाटो उग्रवामपन्थी हुने सम्भावना करिब-करिब शून्य छ। त्यसकारण एमाओवादीको आगामी बाटो अझ बढी दक्षिणतर्फ नै मुखरित हुनेछ।
यसो भएमा पहिलेदेखि नै वामपन्थी दलहरूमा सबैभन्दा ठूलो र दक्षिणावर्त स्थानमा आफ्नो निर्णायक उपस्थितिमा रहेको एमालेसँगको ध्रुवीकरण सम्भावित एमाओवादीको आगामी बाटो हुनेछ। नयाँ संविधानको घोषणा र त्यसको चरित्रमा देखिएको एमाले÷एमाओवादी समानताले पनि यसलाई बलियो आधार प्रदान गरेको छ।
मूलतः बाबुरामको राजनीतिक लाइनले निर्धारण गरेको माओवादीको मूल चरित्र जोगाएर एमाओवादी अगाडि बढ्ने अवस्था नरहेको वर्तमान सन्दर्भमा उसको लागि सम्भावित बाटाहरू यिनै दुइटा हुनेछन्।अर्कोतिर बाबुरामको राजनीतिक भविष्यले त झन् माओवादी चरित्र बोक्ने कुनै सम्भावना नै छैन। नेपालमा जातीय तथा क्षेत्रीय उत्पीडनको मुद्दालाई माओवादीभित्र नीतिगत तहमा स्थापित गर्ने नेता बाबुराम नै हुन्।
उनले नेपालमा वर्गीय मुद्दा भनेकै जातीय-क्षेत्रीय उत्पीडनमा देखा पर्ने मुद्दा हो भन्ने गलत मान्यतालाई सैद्धान्तीकरण गरेका छन्। त्यसकारण उनको माक्र्सवादमा रहेको गलत बुझाइले गर्दा नेपालको कम्युनिस्ट आन्दोलनको माओवादी धारा आज नराम्रोसँग विघटित भइसकेको छ।
माओवादीको विकास र विनाशको इतिहास हेर्ने हो भने बाबुरामको बहिर्गमन माओवादी विघटनको अन्तिम किस्ता हो। बाबुरामको जातीय अवधारणाले वर्गलाई होइन, सम्बन्धित जातिको कुनै पनि ठेकेदारलाई आफ्नो मित्र भएको मान्यता राख्दछ।
त्यसकारण बाबुरामको राजनीतिक लाइन अन्ततोगत्वा साम्राज्यवादीहरूको बुर्जुवा जातिवादसँग एकाकार भएको छ। नेपालमा नांगो मानव कंकालको रूपमा देखापरेको जातिवादले वर्गीय आन्दोलनमा पारेको असरबारे भोलिको कम्युनिस्ट पुस्ताले बाबुरामको नीतिको निर्मम समीक्षा गर्नेछ।
यसरी माओवादीभित्र अध्यक्ष दाहाललाई विश्वासमा लिँदै बाबुरामले तय गरेका केही महत्वपूर्ण नीतिहरू जस्तै संविधानसभाको निर्वाचन, शान्तिपूर्ण राजनीतिमा अवतरण र सेना समायोजनको सबालमा बाबुरामलाई नेपाली राजनीतिले सधैँ सम्झिरहनेछ।
त्यसका साथसाथै नेपाली राजनीतिमा बढ्दै गएको दिल्लीको भूमिका, जातीय÷क्षेत्रीय राजनीतिलाई सीमाभन्दा बढी तन्काएको आरोप र आफ्नै नीतिमा आधारित भएर निर्माण भएको नयाँ संविधानको विरोधमा पार्टी परित्याग गरेका बाबुरामले नयाँ राजनीतिक यात्रापछि पनि पाइलैपिच्छे जबाफ पनि दिँदै हिँड्नुपर्ने निश्चित छ। र, अर्को सत्य पनि के हो भने आगामी समयको नेपाली राजनीतिमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईको वाणी ज्यादै मधुरो स्वरमा मात्र सुनिनेछ।

-Annapurnapost

no image
  • Title : बाबुरामबिनाको माओवादी
  • Posted by :
  • Date : 2:54:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top