दैलेख, असोज १५ । बारिभरी गोलभेँडा फलाएर विक्री गर्ने सोच बनाइएकी सेरी–९ तल्लोगुरासेकी मोतीकला जैसीको सपना अधुरै भयो ।
बिऊ तयार पारी पाली हाउसमा लगाएपछि रोगले धमाधम बोट सुक्न थालेपछि बिक्री गरी आम्दानी गर्ने सपना भताभुङ्ग भएको हो । जिल्ला कृषि विकास कार्यालय कै सहयोग र समन्वयमा उनले सिरिस नामक गोलभेँडा लगाएकी थिईन् ।
मोतीकलाको घर छेउमै ११ वटा टर्नेल (पलाष्टिक घर) छन् । जग्गा भाडामा लिएर ११ जनाले सामूहिकरुपमा गोलभेँडा खेतीका लागि घर बनाएका हुन् ।
जग्गा भाडा मात्रै रु ११ हजार तिर्छन् । गोलभेँडाका बोट सुक्दा दिक्क भएका किसान प्राविधिक सल्लाहसमेत नपाएको गुनासो गर्छन् ।
“एउटा टर्नेलबाट कम्तिमा रु एक लाख आम्दानी हुन्छ,” मोतीकलाले भनिन्, “उत्पादन सुरु हुन नपाउँदै सबै बोट सुके । यो सिजनमा लाखौँ रकम घाटा लाग्यो ।”
मोतीकलाजस्तै गोगनपानी–७ श्रीचौरकी श्रृजना विक पनि आपूmले लगाएको गोलभेँडा रोगले सुकेपछि चिन्तित छिन् । उनले दुई रोपनी जग्गामा गोलभेँडा लगाएकी थिईन् । बजारमा रहेको बिऊबिजन पसलबाट राम्रो उत्पादन हुने गोलभेँडा भनेर सिफारिस गरेपछि उनले लगाएकी थिईन् ।
“फल्ने तयारीमा रहेको बेला सबै बोट सुकेर क्षतविक्षत भयो”, उनले दुखेसो पोख्दै भनिन्– “यही गोलभेँडाबाट रु तीन लाख कमाउने सोच बनाएकी थिएँ । सबै सपनाजस्तै भयो ।” पानीको हाहाकार रहेको श्रृजनाको गाउँमा अहिले तरकारी खेतीलाई लक्षित गरेर ठुलो पोखरी पनि बनाईएको छ ।
पोखरी बनेपछि तरकारी खेतीमा होमिएकी श्रृजना बारीभरी सुकेको बोट हेरेर भक्कानिन्छिन् । “छोराछोरी र घरपरिवारलाई गोलभेँडा बिक्रीबाट भएको आम्दानीले नै धान्थ्यो”, उनले भनिन्– “अब यही खेती गर्न अर्को सिजन कुर्नुपर्ने भो ।”
उनीहरुजस्तै धेरै किसानले लगाएको गोलभेँडाको बोट सुकेर कालो हुदाँ लाखौँ रुपैयाँ घाटा लागेकोमा चिन्तित भएका छन् । प्राविधिक सहयोग नपाउदा पनि लगाएको खेतीबाट हात धुनुपरेको हो । यहाँका धेरै किसानहरु तरकारी मै निर्भर छन् ।
समयमै औषधि नछर्दा गोलभेँडा सुकेको हुनसक्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुर्यनाथ योगीले बताउनुभयो । रासस
0 comments:
Post a Comment